चितवन, २०८२ जेठ ११ — बेटर चितवनका SL2 2025 ब्याचमा सहभागी विद्यार्थीहरू आज एक प्रेरणादायी सामाजिक कार्यक्रम “साथिका निम्ति साथी” आयोजना गर्दै छन्। नारायणी नदी किनारमा दिउँसो ३:०० बजेबाट साँझ ६:३० बजेसम्म सञ्चालन हुने यस कार्यक्रमको मुख्य उद्देश्य सामूहिक सहयोग संकलन (Crowdfunding) मार्फत आर्थिक रूपले कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई शैक्षिक छात्रवृत्ति सहयोग प्रदान गर्नु हो।
“एउटा सानो साथ, ठूलो आशा” भन्ने मूल नाराका साथ सञ्चालन हुने कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नै हातले बनाएको स्वादिलो चटपट र पानीपुरी बिक्री गर्दैछन्। यसबाट संकलन हुने सम्पूर्ण रकम विपन्न विद्यार्थीहरूको शिक्षाका लागि खर्च गरिने जानकारी कार्यक्रम संयोजक विनिता गुरुङले दिइन्।
बेटर चितवनले हरेक वर्ष एसईई परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गर्दै आएको विद्यार्थी नेतृत्वमा आधारित नेतृत्व विकास कार्यक्रम (Student Led Leadership Program – SL2) अन्तर्गत यो कार्यक्रम ल्याइएको हो। यस वर्ष पनि १६ जना सहभागी विद्यार्थीहरूले ३० दिने जीवनपयोगी सीप तथा नेतृत्व विकास तालिम लिइरहेका छन्। उनीहरूले आफैँ परिकार तयार गरेर बेच्ने जस्तो सामाजिक रूपमा संवेदनशील अभियानमार्फत समाजप्रति उत्तरदायी नागरिक बन्ने अभ्यास गरिरहेका छन्।
बेटर चितवनका संस्थापक संयोजक इन्जिनियर सागर कार्कीका अनुसार, “विद्यार्थी भाइबहिनीहरूले समाज बुझ्न, समस्या महसुस गर्न र समाधानमा हातेमालो गर्न यो कार्यक्रम ठूलो सिकाइको अवसर बनेको छ। उनीहरूले बिक्री हुने चटपट, पानीपुरीसँगै विरूवाहरू पनि राख्नेछन्।”
‘साथिका निम्ति साथी’ कार्यक्रमको इतिहास पनि विशेष छ। यसको शुरुवात कोभिड महामारीको कठिन समयमा भएको थियो। सो समय बेटर चितवनले यही कार्यक्रम मार्फत ५०० भन्दा बढी बालबालिका र तिनका परिवारलाई खाद्यान्न तथा सुरक्षासामग्री वितरण गरेको थियो। त्यसयता, यो अभियान हरेक वर्ष दोहोरिएको छ र दर्जनौं विद्यार्थीहरू लाभान्वित हुँदै आएका छन्।
कार्यक्रममा सबैलाई सहभागिता जनाई एक प्लेट चटपट वा पानीपुरी किन्दै सामाजिक उत्तरदायित्वमा योगदान गर्न बेटर चितवनले अनुरोध गरेको छ। “यहाँको सानो साथले कसैको उज्यालो भविष्य निर्माणमा ठुलो भूमिका खेल्न सक्छ”, कार्यक्रम संयोजक दियान हड्खोलेले बताउनु भयो।