युवा दिवसमा बेटर चितवनको युथवान:एकता,सिर्जनशीलता र सदभावको महाउत्सब

२८ साउन,भरतपुर ।

बेटर चितवनद्वारा अन्तर्राष्ट्रिय युवा दिवस (अगस्ट १२) को अवसर पारेर सञ्चालन गरिएको युथवन २०२५: युवा उत्सव अगस्ट २ देखि १२ सम्म चितवनमा भव्यताका साथ सम्पन्न भएको छ । नवौं संस्करणसम्म आइपुगेको यस महोत्सवले यसपटक पनि युवामा सिर्जनशीलता, नेतृत्व, खेलभावना, र सामाजिक उत्तरदायित्वको नयाँ उचाइ थपेको आयोजकहरूले बताएका छन् ।

दश दिनसम्म चलेको यस महोत्सवको अन्तिम दिनको मुख्य समारोहमा जिल्ला समन्वय समिति चितवनका प्रमुख श्री नारायणी प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । उहाँले युवाहरूको ऊर्जा र सिर्जनशीलतालाई समाज रुपान्तरणको शक्तिको रूपमा उपयोग गर्न सबैलाई आह्वान गर्नुभयो । सुरुवाती दिनमै आयोजना गरिएको खुल्ला चित्रकला प्रतियगितामा सहभागी युवाहरूले कला मार्फत सामाजिक सन्देश र सिर्जनशीलता व्यक्त गरे । उक्त प्रतियोगितामा सबिला खातुनले मिया प्रथम, दीपशिखा रखाल मगरले द्वितीय र संस्कृती पुलामीले तृतिय स्थान हासिल गरे । त्यसैगरी, युवा कविता बाचन कार्यक्रमले भावपूर्ण र सशक्त कवितामार्फत युवाको आवाजलाई राष्ट्रिय स्तरमा प्रतिध्वनित गर्यो ।

कार्यक्रमका सामाजिक संस्थाहरू बीचमा मैत्रीपूर्ण फुटसल प्रतीयोगीता आयोजना गरिएको थियो, जसले खेलकुदमा मात्र होइन, आपसी सहयोग र मेलमिलापमा पनि नयाँ ऊर्जा थप्यो । प्रतियोगितामा पुरुष तर्फ कैलाश युथ क्लब प्रथम र स्टेप बाई स्टेप स्कूलका शिक्षकहरुले द्वितीय स्थान हासिल गरे । त्यसै गरी महिला तर्फ चितवन स्मार्ट स्काउट्स क्रु प्रथम तथा लियो डिस्ट्रिक ३२५आर द्वितीय भयो । युथवन अन्तर्गत नै मैले पढेको किताब कार्यक्रम (बुक रिभ्यू सिरिज) को आयोजना गरिएको थियो ।

कार्यक्रममा निसा तामाङले अरुन्धती रोयको The God of Small Things, सिद्धान्त कार्कीले जेम्स क्लियरको Atomic Habits, लक्ष्मण उपाध्यायले अमर न्यौपानेको करोडौं कस्तुरी तथा नौ वर्षीया नायरा अधिकारी (Peace Zone English School, कक्षा ४) ले Princess Kaya पुस्तकको समीक्षा गरेका थिए । समीक्षासँगै कार्यक्रमलाई आणखी जीवन्त बनाउन कवि उपेन्लेद्र त्रिपाठीले कवितापाठ गर्नुभएको थियो ।

युथवनको मुख्य कार्यक्रम अन्तर्गत विविध सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक प्रस्तुतीहरूले स्थानीय संस्कृति र विविधताको झल्को प्रस्तुत गरे । रमाइलो प्रतियोगिताहरूमा विशेष रूपमा होगाथोन (कसले धेरै खाने प्रतियोगिता) लोकप्रिय बन्यो, जसले उत्सवलाई थप आकर्षक बनायो । युवा सशक्तीकरणका लागि प्यानल छलफल आयोजना गरिएको थियो, जसमा प्रविधिमा समस्या, चुनौती र सम्भावनासँगै, उद्यमशीलता, र प्रविधि मार्फत राष्ट्र समृद्धिमा युवाको भूमिकाबारे गहन छलफल भयो । छलफलमा युवा उद्यमी तथा आईटी विज्ञ उत्सव सिंह राठौर र साईबर सुरक्षा विज्ञ इन्जिनियर राज सापकोटा वक्ताको रूपमा हुनुहुन्थ्यो भने छलफलको सहजीकरण बेटर चितवनकी संयोजक बिनिता गुरुङले गर्नुभएको थियो ।

नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न आयोजित नवीन सोच र उद्यम प्रदर्शनीमा १३ वटा विभिन्न स्टार्टअपहरूले आफ्ना उत्पादन र सेवाहरूको प्रदर्शनी गरेका थिए । यस कार्यक्रमले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै युवामा व्यवसायिक सोच र प्रविधिमुखी समाधानको महत्व उजागर गरेको इन्भाईटेकका संस्थापक विकास पुन मगरले जानकारी दिनुभयो । यसै अवसरमा, चितवनको सूचना प्रविधि क्षेत्रमा असाधारण योगदान पुर्याएका श्री शेरबहादुर अधिकारीलाई बेटर युथ अवार्ड २०२५ द्वारा सम्मानित गरिएको थियो । वर्ल्डप्रेस भरतपुरका अभियन्ता तथा परिकल्पनाकार अधिकारीले स्थानीय विकासकर्ताहरूलाई सशक्त पार्दै डिजिटल साक्षरता र नवप्रवर्तनउन्मुख समुदाय निर्माणमा उल्लेखनीय काम गरेका छन् ।

चितवन स्मार्ट स्काउट्स क्रुको सहकार्यमा आयोजित कार्यक्रममा कार्यक्रममा ३०० भन्दा धेरै युवाहरुको प्रत्यक्ष रूपमा सहभागिता रह्यो । यस कार्यक्रमले चितवनका युवाहरूबीच एकता, सहकार्य, र सृजनात्मकताको वातावरण निर्माण गरेको बेटर चितवनकी संयोजक बिनिता गुरुङले बताउनु भयो । “युथवन केवल कार्यक्रम मात्र होइन, यो युवाहरूको सामूहिक शक्ति, सीप, र सपनाको उत्सव हो। यो यात्राले हाम्रा युवाहरूलाई अझ सक्षम, सचेत, र जिम्मेवार बनाउने हाम्रो विश्वास हो।” कार्यक्रमका संयोजक मिशन श्रेष्ठले जानकरी दिनुभयो । चितवनका युवाहरूको क्षमता, ऊर्जा, र उत्साहलाई उजागर गर्दै भविष्यमा अझ ठूलो सम्भावनाहरूको ढोका खोलेको कार्यक्रम संयोजक श्रेष्ठ बताउनुहुन्छ ।

Leave a Comment