घरमा नै कसरी गर्ने फोहोरको व्यवस्थापन?

फोहोर व्यवस्थापन भरतपुर महानगरपालिकाको लागि निकै ठुलो चुनौँती बनिरहेको छ । द्रुत सहरीकरण, सीमित पूर्वाधार, अपर्याप्त बजेट विनियोजन, उपभोक्तामा चेतनाको कमी र कमजोर सङ्कलन, ढुवानी तथा विसर्जन प्रणालीका कारण फोहोरमैला व्यवस्थापन  महानगरपालिकाको लागि हरेक दिन समस्या बनिरहेको हो । फोहोर व्यवस्थापनको एकीकृत तथा दिर्घकालिन दृष्टिकोणको अभाव, रिसाइक्लिङ सुविधाको कमी, खुला डम्पिङ र कस्मेटिक विकासमा जोड दिनाले यो समस्यालाई अझ बढाएको छ । यी चुनौतिहरूलाई सम्बोधन गर्न पूर्वाधारमा लगानी, जनचेतना, फोहोर न्यूनीकरण, रिसाइक्लिङ्ग, र आवश्यकता अनुरूप दिगो रणनीतिहरू सहितको समन्वयात्मक प्रयासहरू निकै आवश्यक छ।

विगत १६ बर्षदेखि फोहोर व्यवस्थापनको पुरानै मोडलमा काम गरिरहेको भरतपुर महानगरपालिकाले जलदेवी सामुदायीक वन हुदै नारायणी नदीमा फोहोरको विसर्जन गरिरहेको छ । आधुनिक प्रविधी सहितको ल्याण्डफिल साइट निर्माण गर्ने प्रकृयामा अघि बढेको महानगरपालिका कोरीयन सरकारले तत्कालै सहयोग गर्न नसक्ने बताएपछि अहिले आफ्नै लगानीमा फोहोर व्यवस्थापनको मोडल बनाईरहेको छ । यस्तो अवस्थामा महानगरको वातावरणीय प्रभाव कम गर्न र दिगोपन प्रवर्द्धन गर्न घरेलु स्तरमा नै फोहोरको व्यवस्थापन गर्नु महत्त्वपूर्ण छ । सचेत नागरिकाको हैसियतले हामी नगरवासीको यो जिम्मेवारी पनि हो । स्रोतमा नै फोहोरको व्यवस्थापन कसरी गर्ने त? प्रभावकारी रूपमा घरेलु फोहोरको व्यवस्थापन गर्ने बारे यहाँ केहि व्यावहारिक अभ्यासहरू उल्लेख गरिएका छन्:

१. स्रोतमा नै फोहोरको बर्गिकरण गर्नुहोस्: विभिन्न प्रकारका फोहोरहरू, जस्तै रिसाइकल तथा पुन: प्रयोग गर्न मिल्ने (कागज, प्लास्टिक, सिसा, फलाम, कपडा), जैविक फोहोर (खेर गएका खानेकुरा, झारपात, तरकारीका बोक्राहरू), र पुन: प्रयोग गर्न नमिल्ने/अजैविक फोहोरहरूका लागि छुट्टै बिन वा कन्टेनरहरू राख्नुपर्दछ ।

२. कम प्रयोग गर्नुहोस्: जति उपभोग गर्यो फोहोरको उत्पादन त्यति नै धेरै हुने हो । त्यसैले हामीले कुनै पनि वस्तुको अनावश्यक प्रयोग गर्नुहुदैन । आवश्यक परेमा समुचित प्रयोग गर्नुपर्दछ । कागजको फोहोर कम गर्न सम्भव हुने सबै काममा पेपरलेस इलेक्ट्रोनिक माध्यम रोज्नुपर्दछ । बजार वा हाटबजार जादा आफ्नै झोलाको प्रयोग गर्नुपर्दछ ।

३. रिसाइक्लिंग: के कस्ता वस्तुहरू रिसाइक्लिंग हुन्छन् भन्ने बारे हामीलाई जानकारी हुनु निकै अवश्यक छ । कागज, प्लास्टिकका बोतल तथा भाडा, फलाम, विजुलीका तार, क्यान जस्ता वस्तुहरू कवाडी संकलकले सजिलै खरिद गर्दछन् । प्लास्टीकका सफा र सुख्खा झोलाहरू पनि बिक्री हुन्छ । पुनःप्रसोधन हुने सामाग्रीहरू बिग्रेपछि त्यसै फ्याक्ने नगरौँ, त्यसलाई रिसाइक्लिंगको लागि पठाइदिनु पर्दछ । फोहोरबाट माेहाेर’ भन्ने मन्त्र विर्सनु हुदैन है ।

४. कम्पोस्टिङ: किचनबाट निस्कने अधिकांश फोहोरहरू जैविक प्रकृतिका हुने गर्दछ । खेर गएका खानेकुरा, फलफूल, तरकारीको बोक्रा, चियापत्ती र झारपात जस्ता जैविक फोहोरहरूबाट कम्पोस्ट मल बनाउन सकिन्छ । कम्पोस्ट मल कसरी बनाउने भन्ने विषयमा हामीले विभिन्न विधिहरूबारे जानकारी लिनु निकै अवश्यक हुन्छ । कंकृटको कम्पोष्ट रिंग च्याम्बर, प्लास्टिकको कम्पेस्ट विन वा अन्य भाडामा पनि कम्पेस्ट मल बनाउन सकिन्छ । जग्गा भएकाले सुरक्षीत रूपमा खाल्टे विधि वा थुप्रो विधि पनि अपनाउन सकिन्छ । गड्यौँलाको प्रयेग गरी उत्कृष्ट भर्मीकम्पोस्ट पनि तयार गर्न सकिन्छ । साथै बोकासे मल बनाउने बिधि अपनाउने हो भने जैविक फोहोरबाट ७ देखि १० दिनमा नै उच्च गुणस्तरको मल उत्पादन गर्न सकिन्छ । यसो गर्नाले घरबाट निस्किएको करिब ६६ प्रतिशत फोहोरको घरमा नै उचित व्यवस्थापन गर्न सकिन्छ ।

५. खाना खेर नफाल्नुहोस्: हामीले खानेकुरा खेर फाल्नु हुँदैन । आफुलाई चाहिने जति मात्रै खरिद गर्ने र प्रयोग गर्ने गर्नुपर्दछ । कसैले खानेकुरा फ्याक्ने गरिरहेको छ भने पनि हामीले उसलाई खानाको सम्मान गर्न अनुरोध गर्नुपर्द्छ । उसो त थुप्रैलाई खान नपाएर दुःख छ हामी अन्न फ्याकेर पाप किन गर्ने?

६. डिस्पोजेबल भन्दा पुन: प्रयोग गर्न मिल्ने वस्तुको छनौट गर्नुहोस्: एक पटक मात्रै प्रयोगमा आउने प्लास्टिक (Single Use Plastic) वा कागजका उत्पादनहरूको सट्टा पुन: प्रयोगमा आउने कपडाको झोला, बोतलहरू, र धातुका भाडाहरू प्रयोग गर्नु पर्दछ ।  पुनः प्रयोगमा नआउने चिजहरूलाई ‘नो NO‘ भन्न सक्नुपर्दछ ।

७. अनावश्यक प्याकेजिङबाट टाढा रहनुहोस्: अनावश्यक प्याकेजिङले ल्याण्डफिल फोहोरको मात्रा बढाउने काम गर्दछ । उक्त फोहोर कम गर्न् न्यूनतम प्याकेजिङ वा पर्यावरण-मैत्री सामग्रीबाट बनाइएको प्याकेजिङका उत्पादनहरू प्रयोग गर्नुपर्दछ । थोकमा किन्नाले पनि अनावश्यक प्याकेजिङजन्य फोहोर कम गर्न सकिन्छ।

८. पुन: प्रयोग वा दान गर्नुहोस्: पुनः प्रयोग गर्न सकिने सामाग्रीलाई हामले फ्याक्नु हुदैन । राम्रो अवस्थामा रहेका तर आवश्यक नभएका वस्तुहरू फ्याँक्नुको सट्टा, परोपकारमा दान गर्ने वा अन्य प्रायेजनको लागि पुन: प्रयोग गर्ने गर्नुपर्दछ ।

९. खतराजन्य फोहोरको उचित व्यवस्थापन गर्नुहोस्: ब्याट्री, फुटेका सिसा, मिति सकिएका औषधी, इलेक्ट्रोनिक्स फोहोर, विषादीजन्य फोहोर र रसायनीक फोहोर जस्ता खतरनाक फोहोरहरूलाई छुट्टै संकलन गरी सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्दछ ।

१०. परिवारका सदस्यहरूलाई शिक्षित गर्नुहोस्: फोहोर व्यवस्थापन अभ्यासहरूमा घरका सबैलाई संलग्न गराउने गर्नुपर्दछ । बच्चाहरूलाई रिसाइकल र कम्पोस्टिङको महत्त्व बारे सिकाउनु पर्दछ । कुन फोहोर कहाँ र कसरी व्यवस्थापन गर्ने बारे सबै सदस्यलाई जानकार गराउनु पर्दछ ।

११. सामुदायिक सरसफाई कार्यक्रमहरूमा सहभागि हुनुहोस्: आफ्नो घरमात्रै नभएर वरपरको वातावरण पनि सफा र सुरक्षीत राख्नुपर्दछ । फोहोरलाई वातावरणमा पुग्नबाट रोक्न समुदाय स्तरमा नियमित सरसफाई कार्यक्रमको आयोजना गर्ने वा त्यस्तो कार्यक्रमहरूमा आफु अनि परिवारका सदस्यलाई पनि सहभागि गराउने गर्नुपर्दछ ।

फोहोर व्यवस्थापन हामी सबैको जिम्मेवारी हो । यदि हामीले घरेलु फोहोरको श्रोतमा नै व्यवस्थापन गर्न सक्ने हो भने ल्याण्डफिल साइटमा पुग्ने फोहोरको मात्रालाई उल्लेखनीय रूपमा घटाउन सकिनेछ । यसले भरतपुर महानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न कम आर्थीक भार पर्दछ, व्यवस्थापन पनि निकै सहज हुनेछ साथै सफा र थप दिगो वातावरणमा निकै ठुलो योगदान पुग्नेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *