बेटर चितवनद्वारा नगरपालिकाको फोहोर व्यवस्थापन सम्वन्धी युवा मञ्च कार्यक्रम आयोजना

बेटर चितवनले आज भरतपुरको भ्याली स्टेट कलेजमा नगरपालिकाको फोहोर व्यवस्थापन सम्वन्धी युवा मञ्च कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा भरतपुर महानगरपालिका लगायतका पालिकाहरुले फोहोरको उचित व्यवस्थापन नगरेको र विना प्रसोधन नदीमा फोहोर विसर्जन गरिरहेको विषयलाई लिएर चिन्ता व्यक्त गरेका थिए । फोहोरको दिर्घकालिन व्यवस्थापनका लागि युवाहरुले निरन्तर विभिन्न कार्यक्रमहरु मार्फत पालिका तथा सम्बन्धित सरोकारवालाहरुलाई खवरदारी तथा सचेत गराउने काम गर्दै आईरहेका छन् ।

कार्यक्रममा कुहीने र नकुहीने दुवै किसिमको फोहोरको व्यवस्थापन कसरी गर्ने, उपभोक्ता, निजी क्षेत्र, सामुदायीक तथा स्थानिय तहको फोहोर व्यवस्थापनमा भुमिका, नगरको फोहोर व्यवस्थापनका चुनौँती तथा निवारणको खोजी लगायत विषयमा वक्ताहरुले चर्चा गरेका थिए । सफा उर्जाबाट प्रवन्ध निर्देशक योगेन्द्र केसीले कुहीने फोहोरहरुलाई कसरी पोषक तत्वमा परिणत गर्ने भन्ने विषयमा जानकारी दिनुभएको थियो । सफा उर्जाले विगत केही वर्ष यता तरकारी मन्डी लगयतका ठाउँहरुबाट खेर गएका फलफुल तथा तरकारी लगायत संकलन गरी सफा मल बनाएर बिक्री गरिरहेको छ । भरतपुर महानगरपालिका भित्र ५५ प्रतिशत भन्दा धेरै फोहोर कुहिने खालको निस्कने भएकाले त्यसको मल बनाएर व्यवस्थापन गर्न सकिने उहाँको तर्क थियो । वेस्ट म्यानेज्मेन्ट ग्रुपका व्यवस्थापक देवी घिमिरे ज्यूले राज्यको कमजोर र असुरक्षीत नितिले गर्दा निजि क्षेत्रले फोहोर व्यवस्थापनमा ढुक्क भएर लगानी गर्न नसकेको जनाउनु भयो । त्यस्तै रिसाईकल नहुने प्लास्टीकको व्यवस्थापनको नविनतम अभ्यास गर्दै आईरहेको ग्रिन रोड वेस्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर निराजन घिमिरेले प्लास्टीकजन्य फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ र यस्ता फोहोरलाई मोहोरको रुपमा परिणत गरि ल्याण्डफिल साईटमा फोहोरको मात्रा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिनुभयो । ग्रिन रोड वेस्ट म्यानेजमेन्टले नेपालमा नै पहिलो पटक प्लास्टिकको प्रयोग गरी सडक निर्माण गरेको हो भने प्लास्टीकको प्रयोग गरेर नै विभिन्न निर्माण सामाग्रीहरु पनि बनाउदै आईरहेको छ ।

युवा मञ्चमा अभियान्ता डा. जिवन क्षेत्रीले फोहोर के हो भन्ने विषयमा हाम्रो बुझाई साथै यसको व्यवस्थापनमा हाम्रो भुमिका कस्तो हुनुपर्ने भन्ने बारे चर्चा गर्नुभएको थियो । त्यस्तै वातावरण संरक्षणकर्मी विकास पाठकले अव्यवस्थित फोहोर व्यवस्थापनले निम्ताएका चुनौति र जोखिमहरुको बारेमा कुरा राख्नुभएको थियो । अभियान्ता अभिषेक पोखरेलले हरित समाज निर्माणको लागि सबै युवाहरुलाई हरित अभ्यास अवलम्वन गर्न अनुरोध गर्नुभएको थियो । साथै ईन्जिनियर सागर कार्कीले नगर फोहोर व्यवस्थापनका वर्तमान अभ्यास, आवश्यकता, प्रविधीमैत्री व्यवस्थापन र ल्याण्डफिल साईट छनोट लगायतका विषयमा जानकारी प्रदान गर्नुभएको थियो ।

वे ग्रुप नेपाल, नेपाल विकास समाज, प्लान्ट प्याराडाइज र सेन्ट्रल कलेजको सहयोग एवम् सहकार्यमा आयोजित उक्त युवा मञ्चमा भेला भएका युवा प्रतिनिधिहरूले नगरपालिकाको फोहोर व्यवस्थापनको समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकतालाई बुझेर र वातावरणको दिगो समाधान सिर्जना गर्न युवाको सहभागिताको महत्वलाई स्वीकार गर्दै सरकार, नागरिक समाज, निजी क्षेत्र र सबै सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउने र कार्यान्वयन गर्न आह्वान गर्ने उद्येश्य सहित निम्नानुसारका उपायहरू अवलम्बन गर्ने संकल्प पत्र गरेका छन् ।

संकल्प पत्रः

१. वातावरणीय दिगोपन हासिल गर्न र सार्वजनिक स्वास्थ्य प्रवर्द्धन गर्न प्रभावकारी नगरपालिका फोहोर व्यवस्थापनको महत्त्वलाई पुष्टि गर्दछ ।

२. हावा, पानी, र माटो प्रदूषण सहित वातावरणमा नगरपालिका फोहोरको प्रभाव, र सार्वजनिक स्वास्थ्य र सुरक्षामा यसको प्रभावहरू पहिचान गर्दछ ।

३. डम्पिङ्ग साईटमा पठाइने फोहोरको मात्रा कम गर्न नगरपालिकाको फोहोरलाई कम गर्ने, पुनः प्रयोग गर्ने र पुनः प्रयोग गर्ने महत्वलाई स्वीकार गर्दछ ।

४. युवा संलग्नता र सशक्तिकरणमा ध्यान केन्द्रित गर्दै, नागरिकहरू बीच जिम्मेवार फोहोर विसर्जन अभ्यासहरू प्रवर्द्धन गर्न सार्वजनिक शिक्षा र जागरूकता अभियानहरू बढाउन आह्वान गर्दछ ।

५. फोहोर छुट्याउने, अपसाईकल गर्ने र सङ्कलन, कम्पोष्टिङ, र रिसाइकल सुविधाहरूको स्थापना सहित दिगो फोहोर व्यवस्थापन अभ्यासहरूको कार्यान्वयनलाई प्राथमिकता दिन स्थानीय पालिका तथा अन्य निकायहरुलाई आग्रह गर्दछ ।

६. विकास र कार्यान्वयन गर्न युवा संघ संगठनहरू र अन्य सरोकारवालाहरूसँग सहकार्य गर्न स्थानीय पालिका तथा अन्य निकायहरूलाई प्रोत्साहन गर्दछ ।

७. फोहोर व्यवस्थापन नीति र कार्यक्रमहरूको निर्णय र अनुगमनमा युवाहरूको सहभागिताको लागि अवसर प्रदान गर्न नगरपालिकाको फोहोर व्यवस्थापनमा युवा परिषद्को स्थापना गर्न सिफारिस गर्दछ ।

८. नगरपालिकाको फोहोर व्यवस्थापनको वातावरणीय प्रभावलाई कम गर्न फोहोरबाट ऊर्जा र अन्य दिगो प्रविधिहरूमा लगानी बढाउन आह्वान गर्दछ ।

९. प्याकेजिङ फोहोरको न्यूनिकरण र पुनः प्रयोग गर्न मिल्ने र बायोडिग्रेडेबल सामग्रीको प्रयोग सहित दिगो फोहोर व्यवस्थापन अभ्यासहरू अपनाउन पालिका भित्रका व्यवसाय र उद्योगहरूलाई प्रोत्साहन गर्दछ ।

१०. फोहोर व्यवस्थापन क्षेत्रमा हरित रोजगारी विकास गर्न, युवा रोजगारी र सीप विकासको लागि अवसर प्रदान गर्न पालिका र सम्वन्धित सबैमा आह्वान गर्दछ ।

११. अवैध डम्पिङ र अन्य उल्लङ्घनहरूको लागि जरिवाना सहित फोहोर व्यवस्थापनमा नियमहरू लागू गर्न र बलियो बनाउन स्थानीय अधिकारीहरूलाई आग्रह गर्दछ ।

१२. दिगो फोहोर व्यवस्थापन लक्ष्यहरूमा प्रगति ट्र्याक गर्न र जवाफदेहिता सुनिश्चित गर्न फोहोर व्यवस्थापन अनुगमन प्रणाली स्थापना गर्न सिफारिस गर्दछ ।

१३. दिगो फोहोर व्यवस्थापन नीति र कार्यक्रमहरूको कार्यान्वयनलाई समर्थन गर्न फोहोर व्यवस्थापन कोष स्थापना गर्न आह्वान गर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *