गाउँमा खेत बाझै छ, सहरमा गमलामा खेती : के हाे??

केही समय अघि “सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम” भन्ने शिर्षकमा फेसबुकमा एउटा समाचार पढे । कमेन्टमा लगभग ९० प्रतिशत र रियाक्टमा करिब ४३ प्रतिशतको प्रतिकृया नकरात्मक थियो । त्यसमा पनि पढेलेखेका र अलिक बुझेका भनिएका व्यक्तिहरू समेतले दिएको प्रतिकृया पढ्दा निकै दुःख लाग्यो ।

केही प्रतिकृयाहरू यस्ता थिएः

      – गाउँमा खेत बाझै छ, सहरमा गमलामा खेती ।
      – गाउँमा बस्न खेती गर्न अल्छी मानेर सहर पसेकाहरुलाई तालिम दिनु र डोकोमा पानी भर्छु भन्नु एकै हो ।
      – घर बिगार्ने भए अब ।

अधिकांशले यसरी कमेन्ट गरेका थिए कि सहरी क्षेत्रमा यस किसिमको तालिम सन्चालन गर्नु अपराध हो र बजेट मात्र सक्नलाई यस्ता तालिमहरू सन्चालन गर्ने गरिन्छ । सँगै धेरैले सहरमा बसोबास गर्नेहरू अल्छी हुन्छन् र गाउँमा बाझो जमिनमा काम गर्न अल्छी मानेर सहर पसेका हुन्छन् जस्तो प्रतिकृया पनि दिएका छन् ।

हुन पनि नेपालका सहरी क्षेत्रमा कौसी खेतीको अभ्यास सुरू भएको धेरै भएको छैन र यसको बारेमा मानिसहरूले बुझ्न केही समय त पक्कै लाग्छ नै । हाम्रा विद्यालयहरूमा पनि कौसी खेती प्रविधि बारे पढाइदैन र राज्यले पनि कौसी खेतीलाई खासै प्राथमिकतामा राखेको देखिदैन । नेपालमा प्रसस्तै खेतियोग्य जमिन छ । किसानलाई त पर्याप्त मल, विउ विजन, आधुनिक प्रविधी, ज्ञान र सिप दिन राज्य अझै सफल देखिएको छैन । वातावरण संरक्षण र फोहोर व्यवस्थापनको हिसावले केही स्थानिय तह र कृषि विश्वविद्यालयहरूले दाताहरूको सहयोगमा भने यस्ता कार्यक्रमहरू गर्दै अइरहेका छन् । यद्यपि सिमित श्रोत र साधनले गर्दा सबैसँग यो तालिमको पहुँच पनि हुदैन ।

सहरका मान्छे खेती गर्न अल्छी मानेर मात्रै सहर पसेका हुँन् भन्ने कुरालाई स्विकार गर्न सकिदैन । कसैका रहर होलान् धेरैका बाध्यता । गाउँमा नै शहरको जस्तो सेवा सुविधा हुन्थ्यो त यो कंक्रिटको थुप्रोमा बस्ने रहर कसको हुन्थ्यो होला र? सहरमा उनीहरूसँग गाउँमा जस्तो प्रसस्तै खाली जमीन हुँदैन । अधिकांश त डेराको घरमा बसिरहेका हुन्छन् । त्यो अवस्थामा कौसीमा आफूलाई मन पर्ने फलफूल, जडिबुटी तथा तरकारीका बिरुवा लगाउनु अपराध कसरी हुन सक्छ? उसै पनि सबै जना बाँझो खेत फोडेर खेती गर्न सक्ने अवस्थाका पनि हुँदैनन् । मैले भरतपुरमा नै ८३ वर्षकी आमाले कौसीमा प्रसस्तै खेती गरेको देखेको छु । कौसी खेतीले गर्दा अहिलेसम्म रोगहरुसँग लड्न सकिरहेको उहाँलाई भेट्दा सुनाउनुहुन्थ्यो । उहाँको घर पुग्दा आफ्नो कौसीमा फलाएको केही न केही दिएर मात्रै पठाउनुहुन्छ ।

अब कुरा गरौं कौसी खेती र यसको महत्व बारे ।

कौसी खेती, जसलाई कौसी गार्डनिङ पनि भनिन्छ, शहरी क्षेत्रहरूमा भवनहरूको छतमा बोटबिरुवा र बालीहरू उब्जाउने अभ्यास हो । यसमा आवासीय, व्यावसायिक र औद्योगिक भवनहरूको छतको खाली ठाउँ प्रयोग गरी तरकारी, जडिबुटी, फलफूल, र सजावटी बोटबिरुवा जस्ता बिभिन्न बिरुवाहरू खेती गर्न सकिन्छ । हालैका वर्षहरूमा कौसी खेती सहरी क्षेत्रमा निकै लोकप्रिय बनिरहेको छ । तर अधिकान्सले कौसी खेतीको फाइदाहरू र यसले कसरी शहरीकरण र खाद्य उत्पादनसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गरिरहेको छ भन्ने अझै बुझ्न नसक्दा यसबारे गलत र भ्रामक सन्देश पनि फैलिरहेको हो ।

हाम्रा सहरहरू विस्तारै घना हुदैछन् । सहरमा परम्परागत कृषिका लागि उपलब्ध जमिन सीमित हुनेहुँदा प्रयोग नगरीएका कौसीका खाली ठाउँहरू खेतीका लागि आकर्षक विकल्प बन्न सक्दछ । बजारमा माग अनुसारको स्वस्थ, ताजा र विषादी रहित तरकारी पाउन पनि मुस्किल छ । कौसी खेतीले शहरी बासिन्दाहरूलाई ताजा र विषादी रहित स्थानीय खाद्य उत्पादनमा योगदान दिन सक्छ । कौसी खेतीले घरको सबै खाद्य आवश्यकताहरू पूरा गर्न त सक्दैन तर हामीले बजारबाट गर्ने खरिदको पूरकको रूपमा भने सहयेग गर्दछ । यसले ग्रामीण क्षेत्रबाट शहरहरूमा खाद्यान्न ढुवानीसँग सम्बन्धित कार्बन फुटप्रिन्ट कम गर्न पनि मद्दत गर्दछ ।

सहरमा कंक्रिटका संरचना धेरै हुने र मानव तथा औद्योगिक गतिविधिहरू अत्याधिक हुने भएकाले सहरको हावा गाउँको भन्दा तातो हुने गर्दछ । सहरमा कौसी खेतीले हरियो छानाको रूपमा काम गर्दछ । कौसीमा लगाइएका बोट विरूवाहरूले सहरको हावाको गुणस्तर सुधार गर्न, शहरी ताप टापुको प्रभावलाई कम गर्न र शहरहरूमा जैविक विविधतालाई प्रवर्द्धन गर्न मद्दत गर्दछ । कौसी खेतीको अर्को महत्वपूर्ण फाइदा भनेको घरेलु कुहिने फोहोरको व्यवस्थापन हो । नेपाल जस्तो विकासन्मुख राष्ट्रमा नगर फोहोरको ५० प्रतिशत भन्दा धेरै फोहोर कुहिने प्रकृतिका हुने गर्दछ । भान्सा वा अन्य वस्तुको उपभोगबाट उत्पादन हुने जैविक फोहोरबाट बनेको कम्पोस्ट मल कौसी खेतीमा प्रायोग गर्दा ल्यान्डफिलहरूमा जाने फोहोरको मात्रा निकै कम हुन्छ । साथै यसले कौसी बगैंचाको लागि आवश्यक पोषक तत्वले भरिपूर्ण माटो उत्पादन गर्न र रासायनिक मलको आवश्यकतालाई उल्लेखनीय रूपमा कम गर्न पनि मद्धत गर्दछ ।

कौसी खेतीले घरका अन्य सदस्यहरू समेतलाई दिगो अभ्यासहरूमा संलग्न हुन र फोहोर घटाउने, पुन: प्रयोग गर्ने, र कम्पोस्टिङको महत्वबारे जान्नको लागि सहयोग गर्दछ । सुरक्षीत तथा व्यवस्थित रूपमा गरिएका कौसी खेतीले घरको आकर्षण बढाउने, हरियाली र सुन्दर वातावरण बनाउने, घरलाई शितलता प्रदान गर्ने, घरका खाली ठाउँ र समयको सदुपयोग हुने, खेर गएका सामग्रीको पुनः प्रयोग गर्न सकिने, कम लागतमा पनि खेती गर्न सकिने र पैसाको बचत हुने जस्ता थुप्रै फाइदा दिन सक्दछ । प्रायः गृहिणी महिलाहरू जो घरको काममा व्यस्त रहन्छन्, वृद्धवृद्धाहरू जो खेतबारीमा काम गर्न सक्दैनन् र शारीरिक अपाङ्गता भएका व्यक्तिहरू समेतले कौसी खेती गर्न सक्ने भएकाले यसको महत्व अझै बढेको हो ।

यति धेरै फाइदाहरू भएता पनि कौसी खेतीमा चुनौतीहरू आउँछन् र सहरका सबै घरहरूमा यो उपयुक्त नहुन सक्दछ । उपयुक्त माटो र ड्रेनेज प्रणालीको व्यवस्थापन, कीराहरूको व्यवस्थापन, चरम मौसम अवस्थाहरूलाई झेल्न सक्ने र बगैंचाको थप वजन थेग्न सक्ने संरचनात्मक मूल्याङ्कन पश्चात मात्रै कौसी खेती गर्नु आवश्यक हुन्छ । कौसी खेती सीमित ठाउँमा मात्रै गर्न सकिने भएकाले खेतीको मात्रा कौसीको आकार र भार वहन क्षमतामा सीमित रहन्छ । कौसी बगैंचाहरूलाई नियमित हेरचाह चाहिन्छ, जसमा पानी, कीट नियन्त्रण, र माटो उपचार जस्ता कुराहरू पर्दछन् । जलवायु परिवर्तन, मौसमको अवस्था र दिनको उज्यालोले अन्य खेतीलाई जस्तै कौसी खेतीलाई पनि असर गर्दछ । घरेलु फोहोरको सहज व्यवस्थापन हुने भएपनि कौसी खेती वातावरणीय प्रभावहरूबाट पूर्ण रूपमा मुक्त छैन । यी प्रभावहरूलाई कम गर्न दिगो अभ्यासहरू प्रयोग गर्नै पर्दछ ।

कौसी खेती गर्दा यदि यसका प्राविधिक पक्ष बारे जानकार नहुने हो भने हाम्रो घर असुरक्षीत हुन पनि सक्दछ । सिपेज एउटा प्रमुख चुनाैती हाे । फेरी खेती प्रविधी बारे पनि जानकार हुनुपर्दछ । कौसी खेतीलाई कम्पोस्टिङ प्रणालीको डिजाइन, उपयुक्त बिरुवाहरूको छनोट र सिँचाइ र माटोको स्वास्थ्यमा ध्यान दिनु लगायत उचित योजनाको आवश्यकता पर्दछ ।

सबै मान्छे गाउँमा मात्रै सीमित हुन सक्दैनन् । यसको अर्थ सहर कंक्रिटको थुप्रो हुनै पर्छ भन्ने होइन । त्यसैले पनि कौसी खेतीमा रुचि राख्ने व्यक्तिहरू र समुदायहरूका लागि कौसी खेती र यसका प्राविधिक पक्ष बारे तालिम आयोजना गर्नु निकै महत्त्वपूर्ण छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *