धनको दहन; डढेलो नियन्त्रणसम्बन्धी सचेतनामुक सडक नाटक

डढेलो नियन्त्रणसम्बन्धी सचेतना फैलाउन

धनको दहन


डिभिजन वन कार्यालय चितवनले आयोजना गरेको वन डढेलो व्यवस्थापन सचेतना सप्ताह–२०८० चैत्र १ गते दखि चैत्र ७ गतेसम्म सञ्चालन गरिएको थियो । विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यमा चैत १ गतेदेखि सुरू भएको सचेतना सप्ताह चैत ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइँएको हो ।

बेटर चितवनसँगको सहकार्यमा कर्मी चाैतारीको प्रस्तुतीमा आइतबार र सोमबार चितवनका विभिन्न पालिकाहरूमा वन डढेलोसँग सम्बन्धित सचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको छ । आइतबार भरतपुर महानगरपालिका–१, रामनगरको सतञ्चुली सामुदायिक वनमा सडक नाटक ‘धनको दहन’ प्रस्तुत गरेको थियो । डिभिजनल वन अधिकृत थिरबहादुर कार्कीले युवा कलाकारहरुले पहिला आफू स्वयं सचेत भएर अन्य उपभोक्ताहरुलाई पनि विषयबारे सचेत गराउने भएकाले नाटक निकै प्रभावकारी हुने बताए ।

नाटकले वन डढेलो र यसले निम्त्याउने विभिन्न समस्या र क्षतिहरुको विषयमा उपभोक्ताहरुलाई मनोरञ्जन साथै सकारात्मक सन्देश प्रदान गरेको सतञ्चुली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चूडामणि गुरूङले बताए । आइतबार नै कालिका नगरपालिका–१, गढुवा चोकमा पनि सोही नाटक प्रस्तुत गरिएको थियो ।

स्थानीय उपभोक्ताहरुको सक्रिय सहभागितामा सम्पन्न उक्त नाटक प्रभावकारी भएको चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिकुमार गुरूङले जानकारी दिए । भिमावली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले नाटकमा दिन खोजिएको धेरै सन्देश पहिले नै थाहा भएको, तर हाम्रो सामान्य लापर्बाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्दोरहेछ भन्ने विषयलाई नाटकले राम्रोसँग प्रस्तुत गरेको बताए ।

सोमबार कालिका नगरपालिकाको शक्तिखोरमा विभिन्न सामुदायिक वन समितिका सदस्यहरु तथा स्थानीय समुदायलाई सचेतनामूलक सडक नाटक ‘धनको दहन’ देखाएको छ । त्यस्तै, रत्ननगर नगरपालिकाको कृष्णमन्दिर चोकमा पनि सोही नाटक प्रस्तुत गरिएको थियो ।

सबडिभिजन वन कार्यालय कालिकाका प्रमुख वन अधिकृत मुनि अन्सारीका अनुसार वन डढेलोसम्बन्धी सचेतना फैलाउन नाटक निकै प्रभावकारी हुन्छ । सोमबार नै कलाकारहरुले राप्ती नगरपालिकाको भण्डारा बजारमा पनि नाटक प्रस्तुत गरेका थिए । राप्ती सबडिभिजन वन कार्यालय क्षेत्रभित्रका वन उपभोक्ता समितिका प्रतिनिधि तथा भण्डाराका स्थानीयहरुलाई नाटक देखाइएको हो ।

मध्यवर्ती क्षेत्रका उपभोक्ताहरु समेतले नाटकबाट लाभ लिएको र वन डढेलोबारे व्यावहारिक सचेतनासमेत प्रदान गरेको सबडिभिजन वन कार्यालय राप्तीका प्रमुख वन अधिकृत अन्जनी अधिकारीले जानकारी दिइन् ।

बेटर चितवनका संस्थापक संयोजक इन्जिनियर सागर कार्कीको परिकल्पनामा तयार भएको उक्त नाटक प्रदीप ढुङ्गानाले लेखन तथा निर्देशन गरेका हुन् । कलाकारहरु किरण ढकाल, सुनिल ढुङ्गाना, देव श्रेष्ठ, निशु परियार, प्रवेश प्याकुरेल, समता अर्याल र आस्मा राईले नाटकमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

नाटकको भिडियोः https://www.youtube.com/watch?v=B-8EJvcBANs

पहिलो दिनको तस्वीरहरूः https://www.facebook.com/BetterChitwan/posts/pfbid0XgULjNoCpxQ7xKyVmC5rQUGSCSCTHJP92LqGgM1TU72rsj6HySvZEKpjsnZpPoCwl

दोश्रो दिनको तस्वीरहरूः https://www.facebook.com/BetterChitwan/posts/pfbid0aDoA8mwBCWb4G2hYuaonRbkVjLHZYSeGx9rUSLdfPtfpvY1kyPLi2RLsj6rBCa17l

जम्मा सडक नाटकः ५ सो

Leave a Comment

Your email address will not be published. Required fields are marked *